गाउँ चिनाउँदै चन्द्रकान्त - DoroNepal

Breaking

Wednesday, March 17, 2021

गाउँ चिनाउँदै चन्द्रकान्त

 - पुम्दीकोटको विशाल महादेवको मूर्ति निर्माण ६ महिनाभित्र सकिने

पोखरा, २९ पुुस । पोखराका चन्द्रकान्त बरालको परिचय समाजसेवीको रुपमा बढी चर्चित छ । समाजसेवा गर्न पाउँदा सन्तुष्ट महसुस हुने उनी बताउँछन् । बराल फिड इन्डष्ट्रिजका संचालक उनी गरिमा विकास बैंकका अध्यक्ष पनि हुन् । उनको संलग्नता यसका अलावा विभिन्न क्षेत्रमा छ । जसको फेहरिस्त लामो हुन सक्छ ।

पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा हुर्केका उनले व्यवसायबाट प्रशस्त आम्दानी गरेका छन् । सात दाजुभाइलाई बाँडेर खाने २ सय रोपनी जग्गामध्ये उनले आफ्नो भागमा परेको जग्गा बैंकमा धितोमा राखेर डेढ लाख रुपैयाँ ऋण काढे । अनि थाले बंगुरपालन । सुरुसुरुमा त बाहुनको छोरोले बंगुर पाल्यो भनी कुरा काट्ने पनि भेटिए । तर उनी त्यसको वास्ता गरेनन् । निरन्तर परिश्रममा केन्द्रित रहे । पछि कुखुरापालन र मासु बेच्न थाले । समयक्रमले छिट्टै करोडपति बनायो । यहाँ उनको व्यावसायिक सफलताको कथाको पाटो छोडेर उनकै परिकल्पनामा बन्न लागेको अद्वितीय नमुना खोतल्ने छौं, त्यो हो विशाल महादेवको मूर्ति निर्माण ।

बिशाल महादेव मूर्तिका परिकल्पनाकार चन्द्रकान्त बराल

पोखरा २२, पुम्दीकोट आफैमा सुन्दर स्थल हो । पुम्दीकोट समुद्री सतहबाट १५ सय मिटर उचाइको यो ठाउँबाट पोखरा बजार, फेवाताल, उत्तरमा हिमश्रृङ्खला देख्न पाइन्छ । विगत पूर्खादेखि नै यहाँको महादेवभूमि देवता भनी पुज्ने चलन थियो । उनी आफ्नै गाउँ ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ भनी योजना बनाए । अनि संकल्प गरे, विशाल महादेवको मूर्ति बनाएर धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने ।

सुरुवातमा १०८ फिट अग्लो मूर्ति बनाउने योजना थियो । तर विविध कारणवश मिलेन । अहिले ५१ फिट अग्लो विशाल महादेवको मूर्ति निर्माण अन्तिम चरणमा छ । मूर्ति जडान प्रक्रिया सके पनि औपचारिकरुपमा सर्वसाधारणका लागि खोलिएको छैन । ८० प्रतिशत कार्य पूरा भएकोमा पूरै सक्न अब ५/६ महिना कुर्नुपर्ने बरालले सफल आवाजलाई बताए ।

५१ फिट अग्लो विशाल महादेवको मूर्ति, जसको ८० प्रतिशत निर्माण पूरा भएको छ ।

मूर्ति निर्माणमा लाग्ने ठूलो रकम आफैले धान्न नसक्ने भएपछि स्थानीयको समन्वयमा महायज्ञ गरी आर्थिक संकलन गरिएको थियो । महायज्ञमा ६ करोड १८ लाख नगद र २० रोपनी जग्गा भूमिदान भएको थियो । महायज्ञमा बोलिएको रकममध्ये अझै डेढ करोड रुपैयाँ उठ्न बाँकी छ ।
यो बृहत् योजनामा वीरगञ्जका समाजसेवी एवं उद्योगपति रुंगटा बेल्फेयर सोसाइटीका मुरलीधर रुंगटाका छोरा प्रदीपकुमार रुंगटाले १ करोड रुपैयाँ बढी आर्थिक गरेका छन् । त्यस्तै १ करोड बढी दान गर्नेमा समिति अध्यक्ष चन्द्रकान्त बराल आफै पनि हुन् । मूर्ति दान गर्ने काठमाडौं निवासी कमल जैन हुन् । उनको मात्रै ३ करोड रुपैयाँ बढी सहयोग छ ।

पुम्दीकोटबाट तल पारेर देखिने पोखरा बजार फेवातालको मनोरम दृश्य

यहाँ अष्ठधातुजडित फाइवर ग्लासबाट बनेको मूर्तिमात्र बन्ने छैन, पुम्दीकोटको समग्र विकासका लागि ४० करोड रुपैयाँको गुरुयोजना बुनिएको छ । गुरुयोजनाअन्तर्गत १०८ स्वर्गद्वारी सिँढी, रूंगाटा बैकुण्ठ हल, गुरू महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थल लगायतका संरचना निर्माण समेटिएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समिति अध्यक्ष बरालले जानकारी दिए ।

समाजसेवी बरालले भने, ‘धार्मिक, पर्यटन तथा सांस्कृतिक प्रवद्र्धनको लागि यो योजना बुनिएको हो । विभिन्न संघसंस्था, व्यक्तिहरुको सहयोग प्राप्त भएको छ । यसबाट पोखरामा धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नुका साथै यहाँ घुम्न आउने पर्यटकको बसाइँ लम्बिने विश्वास छ ।’

गुरुयोजनाको हालसम्म ४० देखि ४५ प्रतिशत कार्य सम्पन्न भएको छ । करिब १५ करोड रुपैयाँ खर्च भइसकेको छ । पाँचवर्षे सो योजनामा कोभिडका कारण समय पछि धकेलिएको छ भने लागत पनि बढ्ने अनुमान छ । गुरुयोजनाअन्तर्गत सम्पूर्ण संरचना निर्माण पूरा हुन अझै २ वर्ष लाग्ने देखिन्छ । कुल २२ रोपनी क्षेत्रफलमा रहेको उक्त जग्गा समितिले ३० वर्षको लागि नेपाल सरकारसँग भाडामा लिएको हो ।

No comments:

Post a Comment