अक्सिजन आपूर्ति ढिलो हुँदा रूपन्देहीमा ८ जनाको मृत्यु - DoroNepal

Breaking

Wednesday, May 12, 2021

अक्सिजन आपूर्ति ढिलो हुँदा रूपन्देहीमा ८ जनाको मृत्यु


२०७८ बैशाख, २८ - बुटवल: अस्पतालमा अक्सिजन सकिएपछि रूपन्देहीका अस्पतालमा भर्ना भएका ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना धागो कारखानास्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पताल र ३ जना भैरहवास्थित भीम अस्पतालका छन्।

बुधबार दिउँसो केही समय अक्सिजन आपूर्ति बन्द हुँदा बुटवलको कोरोना विशेष अस्पतालमा ५ जना विरामीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालको आईसियूमा अक्सिजन सहायतामा उपचार भईरहेका ५ जनाको मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले अस्पतालमा अक्सिजन सकिएको पटकपटक सूचना गर्दा पनि उपलब्ध नभएपछि आधा घण्टा अक्सिजन सप्लाई बन्द भएको बताए। बुधबार बिहानै आउनुपर्ने अक्सिजन दिउँसो साढे तीन बजे तिर मात्र आएको र दिउँसो आधा घण्टा अक्सिजन सप्लाई रोकिँदा बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं. ११ का २९ वर्षिय पुरूष, वडा नं.  ८ का ५२ वर्षिय पुरूष, वडा नं. १२ की ५९ वर्षिया महिला र वडा नं. १३ का ५२ वर्षिय पुरुष छन्।

त्यस्तै पश्चिम नवलपरासीको बर्दघाटका ४४ वर्षिय पुरुषको पनि अक्सिजन अभावमा बुधवार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

यता भैरहवाको भीम अस्पतालमा पनि १५ मिनेट अक्सिजन आपूर्ति रोकिँदा ३ जनाको मृत्यु भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ताका अनुसार अक्सिजन रोकिएको केही समयमै तीन जना विरामीको मृत्यु भएको जानकारी दिईन्।

मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का ३९ वर्षीय पुरूष, ओमसतिया २ की ७० वर्षीय महिला र सिद्धार्थनगर नगरपालिका ४ की ४४ वर्षीय महिला छन्।

मृतकका आफन्तले सरकारले अक्सिजनसमेत उपलब्ध गराउन नसक्दा परिवारका सदस्य गुमाउनु परेको भन्दै दुखेसो गरेका छन्। अस्पतालले मंगलबारदेखि नै अक्सिजन अभाव हुन थालेको भन्दै प्रशासनलाई जानकारी दिएका थिए ।

अस्पतालहरुले थेग्नै नसक्ने गरी संक्रमित बढ्दै गएपछि रूपन्देहीका सबैजसो अस्पतालमा अक्सिजन अभाव भएको छ। जिल्लामा रहेका तीन वटा अक्सिजन प्लाण्टबाट उत्पादित अक्सिजन अस्पतालमा व्यवस्थापन गर्ने कार्यमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज केसी आफैं खटिएका छन्।

तर उद्योगहरुको क्षमताभन्दा अस्पतालको माग अत्यधिक बढेपछि माग अनुसार अक्सिजन उपलब्ध हुन नसकेको प्रहरी उपरीक्षक केसीले बताए। रूपन्देहीमा रहेका तीन वटा अक्सिजन प्लाण्टबाट दैनिक १ हजार १ सय २६ सिलिण्डर अक्सिजन उत्पादन क्षमता रहे पनि रुपन्देहीमा मात्रै दैनिक २ हजार सिलिण्डर अक्सिजनको माग भईरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

हाल भैरहवाको भीम अस्पतालमा ८६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा बेड क्षमता भन्दा बढी बिरामीको चाप बढेपछि अस्पतालले भुईमै फर्म बिच्छाएर विरामीहरुको उपचार गरिरहेको छ।

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा पनि एचडियू, आईसियू र भेन्टिलेटरमा गरि १ सय ९० जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको ईमरजेन्सी र कोरोना अस्पतालमा गरि करिब ९७ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।

साभारः सेतोपाटी

No comments:

Post a Comment